भिनाजु को एसईइ परिक्षा दिने सालो पक्राउ
चैत १९गते :सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने सालो पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् ।
महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए । महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो ।
कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् । राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ ।
नक्कली परीक्षार्थी महतोलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । सर्लाहीमा एसईई अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ ।
अनिवार्य गणित विषयको परीक्षामा आफ्नो केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाहीस्वरूप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।