नक्कली सुन देखाएर ठगी गर्ने छ जना पक्राउ
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
झापाको तोपगाछी गाउँपालिका -१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका -११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका -३ बाघ डाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका -९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभएको छ ।
उहाका अनुसार उनीहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ। आरोपीहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरी स्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।