‘मार्शल ल’ लगाउने दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव
काठमाडौं । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ । शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको भनिएको छ । मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताउनुभएको थियो । उहाले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गर्नुभएको थियो ।
राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरुले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरुले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए । लगत्तै देशभर राष्ट्रपतिको विरोधमा प्रदर्शन भएको थियो । व्यापक दबाबबीच बुधबार बिहान उहाँले सैन्य शासन लागू गर्ने प्रस्ताव फिर्ता लिनु परेको थियो । यद्यपि, असंवैधानिक कदम चाल्ने राष्ट्रपतिविरुद्ध कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन जारी छ ।