सरकारले वैदेशिक रोजगारीमा जान काठमाडौं धाउनुपर्ने बाध्यता हटाउदै
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा भिसा प्रक्रिया लगायत कामका लागि पश्चिम जिल्लाहरूबाट काठमाडौं धाउनुपर्ने बाध्यता हटाउने तयारी गरेको छ।
काठमाडौं नआई भैरहवाबाट सोझै वैदेशिक रोजगारीमा जान सक्ने गरी आवश्यक संयन्त्र विस्तारको तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभएको छ।
मन्त्रालयले यसअघि नै भैरहवा तथा पोखरामा पनि वैदेशिक रोजगारीका लागि आवश्यक संयन्त्र विस्तार गरेर काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने निर्णय गरेको थियो।
बुधबार भैरहवामा पर्यटन तथा श्रममन्त्री तथा सबै सरोकारवालाबीच फेरि छलफल भएको हो।अब म्यानपावरका शाखा भैरहवामा विस्तार गर्ने गरी कार्यविधि संशोधन गर्नुपर्ने भएको छ। स्वास्थ्य संस्थाका शाखा, अभिमुखीकरण तालिम प्रदायक लगायत आवश्यक सबै संयन्त्र विस्तारका लागि काम अगाडि बढिसकेको छ, सचिव निरौलाले बताउनुभएको छ।
वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिँदै आएको श्रम स्वीकृति अनलाइनबाट हुने भएकाले त्यसमा असहज नहुने उहाको भनाई छ। सामाजिक सुरक्षा कोषको काम पनि अनलाइनमा गइसकेकाले त्यसमा पनि समस्या नहुने सचिव निरौलाले उल्लेख गर्नुभएको छ।
भैरहवामै भिसा सेन्टर स्थापनाका लागि पनि परराष्ट्रमार्फत पत्राचार गरिसकिएको छ। कतार, मलेसिया लगायत मुलुकले भिसा सेन्टरको जिम्मा निजी क्षेत्रलाई दिएका छन्। भिसा सेन्टर काठमाडौंमा मात्रै छन्। उनीहरूले दिने सेवा भैरहवाबाट समेत हुनुपर्ने भनेका छौं, उहाले भन्नुभयो।
अन्य कतिपय मुलुकको भिसा सम्बन्धी काम अनलाइनबाटै हुने भएकाले सहज हुने पनि उहाको भनाई छ।
मन्त्रालयका अनुसार प्रहरी कार्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र, बीमा लगायत सुविधाको समेत भैरहवामै व्यवस्था गरिनेछ। भैरहवा विमानस्थल सञ्चालनमा सहयोग पुर्याउने उदेश्यले सबै संयन्त्र विस्तार गर्न योजना अघि सारिएको सचिव निरौलाले बताउनुभयो।
अहिले पनि भैरहवाबाट श्रम स्वीकृति जारी भइरहेको छ। त्यहाँको कार्यालयमा दरबन्दी थप गर्नुपर्ने आवश्यकता देखिएको श्रम मन्त्रालयका सूचना अधिकारी हुमनाथ पराजुलीको भनाई छ।
अहिले भैरहवाबाटै श्रम स्वीकृति जारी भए पनि बीमा, पूर्वप्रस्थान अभिमुखीकरण, भिसा प्रक्रिया, स्वास्थ्य परीक्षण लगायत सबै कामका लागि काठमाडौं आउनुपर्ने अवस्था छ।
भैरहवा विमानस्थल चलाउन काठमाडौं आएर सबै प्रक्रिया पूरा गरेका कतिपय युवालाई फेरि भैरहवा पुर्याएर, त्यहाँबाट उडाउने गरिएको छ। अध्ययन, घुमफिर लगायत विभिन्न प्रयोजनका लागि विदेश जानेहरू पनि सबै प्रक्रियाका लागि काठमाडौं नै धाउनुपर्ने अवस्था छ। सबै किसिमका काम भैरहवाबाट हुने गरी व्यवस्था मिलाउन पर्यटन मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरिरहेको जनाएको छ।
सबै व्यवस्था भैरहवामै भए भैरहवा र त्यहाँभन्दा पश्चिमतर्फका नेपालीहरू काठमाडौं धाउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनेछ। समय र पैसा बचत हुनेछ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा यसै विषयमा छलफल गर्न सरोकारवालाको बैठक बसेको थियो। भैरहवा विमानस्थल हुँदै उडान गर्ने यात्रु सबभन्दा धेरै वैदेशिक रोजगारीका लागि जानेहरू नै रहेको अधिकारीहरूले बताएका थिए।
पर्यटन मन्त्रालयका अधिकारीहरूले पर्यटकीय उद्देश्यले भन्दा पनि वैदेशिक रोजगारीका लागि जाने यात्रु धेरै रहेकाले श्रमका लागि आवश्यक संयन्त्र जतिसक्दो छिटो भैरहवामा स्थापना गर्नुपर्ने आग्रह श्रम मन्त्रालयसँग गरेका थिए।
नोभेम्बरदेखि डिसेम्बरसम्म भैरहवा विमानस्थलबाट चार हजार सात सय ७१ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ। तीमध्ये दुई हजारभन्दा बढी यात्रु विदेश उडेका छन्। दुई हजार पाँच सय बढी यात्रुले अवतरण गरेका छन्।
यो अवधिमा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेका छन्। एक महिनामा कुल एक सय ५६ उडानरअवतरण भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने वैदेशिक रोजगारीका लागि मात्रै वार्षिक ६ लाखभन्दा धेरै युवाहरू जाने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा झन्डै साढे सात लाखले श्रम स्वीकृति लिएका थिए।