प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने कार्यक्रम तय
झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ। गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका उहाले यहाँ दुई दिन बिताउनुहुनेछ ।
प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले स्वागत गर्नुभएको छ।
प्रधानमन्त्री ओली आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
उहाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।
यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
मेचीनगरको मानवसेवा आश्रम उद्घाटन, शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताउनुभएको छ।