एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताउनुभएको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । उहाले भन्नुभयो, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’

उहाले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उल्लेख गर्नुभएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उहाले बताउनुभएको छ । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ।

‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने बताउनुभएको छ ।

‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान–लाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि,’ ओलीले भने, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *