मौलायो भ्रमको खेती, ‘कागले लगेको कान’ खोज्दै मिडिया 

कसैले तपाईंलाई भन्यो- ‘कागले कान लग्यो !’

तपाईं के गर्नुहुन्छ ?  सबैभन्दा पहिले तपाईंले आफ्नो कान छाम्नु नै बुद्धिमत्तापूर्ण कदम हुनसक्छ ।

तर, आफ्नो कान छाम्नुको सट्टा नेपालका केही संचार माध्यमहरु  ‘कागले कान लग्यो’ भनेर दौडिरहेका छन् । यसको एउटा सानो उदाहरण हो- भगौडा एजेन्टको भ्रामक अभिव्यक्ति । 

एक अनाधिकृत (आधिकारिक पद-ओहोदामा नरहेको) विदेशी नागरिकले नेपाल सरकारबारे अस्वभाविक टिप्पणी गरे । सोही टिप्पणीलाई आधार बनाएर नेपाली संचार माध्यमले अपुष्ट र भविष्यवाणीजन्य जानकारीलाई प्रथामिकताका साथ प्रकाशित गर्छन् ।  

‘लक्की विष्ट’ नामले  आफुलाई चिनाउने एक व्यक्ति, जसलाई २०११ मा दुईजना भारतीय नागरिकको निर्मम हत्या गरेको आरोप लागेको थियो । सोही हत्याको आरोपमा उनी जेलसमेत परिसकेका छन् ।

लक्की विष्ट आफू भारतीय गुप्चतर एजेन्सी ‘रअ’को पूर्व एजेन्ट भएको दाबी गर्छन् । तर उनले राष्ट्रिय सुरक्षा गार्डको रुपमा काम गरेका थिए । पछिल्लो समय उनी हिन्दी फिल्म उद्योगमा करिअर बनाउन लागिपरेका छन् । यही कारण उनी चर्चामा आउनका लागि अनेक अभिव्यक्ति दिने गर्दछन् ।

यही सन्दर्भमा लक्की विष्टले एक अन्तर्वार्ता दिँदै केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने अपुष्ट दाबी गरेका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपालमा सत्ता परिवर्तन हुन लागेको दाबी गरेका हुन् ।

यसमा आश्चर्य त के छ भने सोही दाबीलाई नेपालका केही संचार माध्यमले प्रथामिकताका साथ प्रकाशित गरेका छन् । त्यो पनि बढाइचढाइ गरेर ।   

विष्टले अन्तर्वार्तामा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गर्न भ्याएका छन् । आफूले ‘रअ’ एजेन्टको रुपमा विभिन्न देशमा काम गरेको उनको दाबी छ । तर, उनको यो दाबीमा कुनै पनि ठोस आधार र प्रमाण भने छैन । उनी आफैले पनि कुनै प्रमाण दिएका छैनन् । अर्कोतर्फ उनको अप्रमाणित र भविष्यवाणीजन्य दाबीलाई नेपालका संचारमाध्यमले तिब्र रुपमा फैलाइरहेका छन् ।

भाइरल बन्नका लागि जे पनि दाबी गरेका विदेशी व्यक्तिको भनाईकै आधार नेपालका राष्ट्रिय मिडियाले समाचार बनाउनु ठिक हो कि गलत ? यो मिडिया आचारसंहिताको प्रश्न होला । तर यसबाट नेपाल र नेपाली जनतामा पर्ने असरको जिम्मेवारी कसले लिने ?

सरकारको सफलता र भ्रमको खेती 

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सरकारको निमन्त्रणामा चीन भ्रमण गर्नुभयो । उच्चस्तरीय भ्रमणमा तीन उच्च नेता राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका प्रमुखसँग उहाँले सौहार्दपूर्ण भेटवार्ता गर्नुभयो । त्यसले नजिकको छिमेकी, संसारको दोस्रो शक्तिशाली मुलुकसँगको नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ । अर्कोतर्फ नेपाल-भारत सम्बन्ध पनि सौहार्दपूर्ण तरिकाले निरन्तर अगाडि बढिरहेको छ ।  

यही सन्दर्भमा केपी शर्मा ओली नेतृत्वको सरकारले आन्तरिक-सम्बन्धहरुलाई सन्तुलित ढंगले अगाडि बढाइरहेको देखिन्छ । सरकार द्रुत गतिमा महत्वपूर्ण कामहरु अगाडि बढाइरहेका बेला सामाजिक संजालमा भ्रामक सन्देशहरु फैलाउन खोजिएको पाइन्छ । यसरी भ्रामक सूचना फैलाएर समाजमा नकारात्मकताको खेती गर्दै फाइदा लिनेहरु पनि सक्रिय देखिन्छन् ।

बलियो सरकार, बलियो सत्ता समझदारी

अहिले नेपाललाई चाहिएको विकास र समृद्धि हो, यसका लागि आवश्यक पहिलो सर्त स्थिर सरकार नै हो । यही आवश्यकतालाई मध्यनजर गर्दै नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले २०८१ असारमा राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमति गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउने सहमतिसहित सत्ता समझदारी भएको थियो ।

प्रस्तुत उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गर्ने र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने समझदारी पनि त्यतिबेलै भएको थियो ।

सोही समझदारी अनुसार पहिलो दुई वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच लिखित सहमति नै भइसकेको जानकारी संचार माध्यममा प्रकाशित छन् । पछिल्लो समय दुबै दल स्थिर सरकार दिन प्रतिबद्ध छन् ।

बलियो राष्ट्रिय सहमतिको सरकार संचालन भइरहेको अवस्थामा केही संचारमाध्यमले नै भ्रामक र गलत जानकारीलाई मलजल गरिरहेका छन् । सुरुमै भनिसकियो, कतैबाट कसैले ‘कागले कान लग्यो’ भनिदिँदा आफ्नो कान समात्नुको सट्टा कागको पछाडि दौडिने लहड नेपाली मिडियामा मौलाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *