दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आज (शुक्रबार) बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चको प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।
बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । साइबर अपराधको कसुरमा उनी गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी मंसिर २७ गते आपराधिक लाभ र संगठित अपराधको कसुरमा पुनः पक्राउ परेका थिए ।
दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने सर्वोच्चले आदेश दिएपछि उनलाई शुक्रबार सर्वोच्चमा हाजिर गराइएको थियो । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।