पोखरामा जारी अन्तर्राष्ट्रिय सम्मेलन (फेवा संवाद २०२४)मा विभिन्न देशका विज्ञहरू सहभागि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन (फेवा संवाद २०२४) को आयोजना गरेको छ । चीनको सिचुआन विश्वविद्यालयसँगको सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पहिलो दिन बिहीबार पूर्वराष्ट्रपति विद्यादेवी भट्टराईले उद्घाटन गर्नुभएको छ।
आज सकिने सम्मेलनमा नेपालसहित चीन, भारत, श्रीलङ्का, पाकिस्तान, भुटान, बङ्गलादेश, मलेसिया, इन्डोनेसिया र सिंगागुरका विज्ञहरू सहभागिता रहेको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरको रूपमा प्रयोग गर्ने उद्देश्यले पहिलो पटक सम्मेलनको आयोजना गरिएको त्रिविका प्रवक्ता एमनसिंह बोहराले जानकारी दिनुभएको छ ।
सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका साथै प्रविधि र विकासको साझेदारी र अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।
सम्मेलनको उद्घाटनमा शिक्षामन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, पूर्व मन्त्रीहरू कमल थापा, डाक्टर युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डाक्टर प्रकाशशरण महत लगायतको उपस्थिति रहेको थियो ।