भक्तपुरको बालकोटमा बुबा–छोरा मृत फेला,जेठा छोरा भने फरार
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोटको एक घरमा बुबा र छोरा मृत अवस्थामा फेला परेका छन्।
मृतकहरू खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा नवीन आचार्य रहेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, बाबु र छोरा दुई फरक कोठामा मृत भेटिएका हुन्। उनीहरुसँग बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार छन् ।
प्रहरीका अनुसार आइतबार राति तीनै जनाले खाना खाएर सुतेका थिए। तर सोमबार बिहान, दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बुबा र कान्छा छोरा मृत अवस्थामा फेला परेका छन्।
शवमा चोटपटक लागेको र बाहिरबाट ताला लगाइएको कारण घटनामा हत्या भएको आशंका व्यक्त गरिएको छ। उनीहरु भक्तपुरको बालकोटको फिकाधारा टोलमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र फरार व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिएका छन्।