पोखरामा आजदेखि अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु

पोखरा। नेपालमा पहिलोपटक आयोजित ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’आजदेखि पोखरामा सुरु भएको छ। साहसिक खेलकुदमार्फत पोखरामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा महोत्सवको शुभारम्भ भएको हो।

यो महोत्सव बिवाइडीको मुख्य प्रायोजनमा आयोजना भइरहेको छ र ९ दिनसम्म चल्नेछ। महोत्सवको अवधिमा दैनिक बिहान र साँझ पोखराको आकाशमा १७ वटा हट एयर बेलुन उड्नेछन्। महोत्सवको अवधि २४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५ सम्म रहेको छ, जसको स्थानीय संयोजन फेवा क्लबले गरेको हो।

महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अष्ट्रिया, कोरिया, इटाली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, र बेल्जियम लगायतका देशका हट एयर पाइलटहरू सहभागी भएका छन्।

महोत्सवमा उडान पोखरा-२३ र २४ स्थित फेवा फाँटअन्तर्गतको लौरुक देखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा हुनेछ। बेलुनहरूले एकपटकमा ४० मिनेटसम्म ५,000 फिट माथिसम्म उडान गर्नेछन्।

यस महोत्सवले पोखरामा अन्तर्राष्ट्रिय पर्यटन र साहसिक खेलकुदको क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *