भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने

भोजपुर। भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि ५ गतेसम्म सांस्कृतिक, पर्यटन र कृषि मेला आयोजना हुने भएको छ।

टेम्केमैयुङ गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गर्दै मेला संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा हुने जानकारी दिएको हो। यो मेला टेम्केमैयुङ गाउँपालिका-४ नागीको चखेवामा आयोजना हुनेछ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५ लाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको जानकारी दिए।
उनले भने, “सरकारले घोषणा गरेको एक सय प्रमुख पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो, जसको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा यस मेलाले महत्वपूर्ण भूमिका खेल्नेछ। यसका साथै, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न पनि मेला सहयोगी हुनेछ।”

मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रस्तुति दिने जनाइएको छ। टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले मेलामा विशेष ध्यान कृषि उत्पादनको प्रोत्साहनमा रहने बताए।

यस मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्ने साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने उल्लेख गरिएको छ।

गाउँपालिकाले भ्रमण वर्षका अवसरमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर विभिन्न कार्यक्रमहरूतय गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *