एमालेकी सांसद भगवती चौधरीले पाइन नेपाल-इजरायल मैत्री समूह संयोजकको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेकी सांसद भगवती चौधरीलाई नेपाल-इजरायल संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी दिइएको छ। संघीय संसद सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्य चौधरीलाई संसदीय मैत्री समूहको कार्यविधि २०८० बमोजिम नेपाल-इजरायल संसदीय मैत्री समूहको संयोजक नियुक्त गरिएको हो।
नेपाल-इजरायल संसदीय मैत्री समूहका सदस्यमा नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ, गोपाल कुमार बस्नेत, नेकपा एमालेका प्रेम बहादुर महर्जन र इश्वरी घर्ती, तथा नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही रहेका छन्।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले संसदीय मैत्री समूहका संयोजकहरूलाई विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन आग्रह गरेका छन्। बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँग भएको छलफलमा उनले यो आग्रह गरेका थिए।
सभामुख घिमिरेले जानकारी दिँदै भने कि नेपाल संसदले ४१ देशका संसदसँगको सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह गठन गरेको छ। यसमध्ये ३ वटा संसदीय मैत्री समूहको संयोजक छिट्टै तोकिने पनि उनले बताए।
अझै अन्य संसदीय मैत्री समूहका संयोजक तोकिएको छ, जसमा नेपाल-संयुक्त अरब इमिरेट्सको संयोजक सीता गुरुङ, नेपाल-साउदी अरबको संयोजक उदय शमशेर राणा, नेपाल-आयरल्याण्डको संयोजक ज्ञानेन्द्र बहादुर कार्की, नेपाल-अजरबैजानको संयोजक डा. अञ्जान शाक्य, नेपाल-कतरको संयोजक लिलानाथ श्रेष्ठ, नेपाल-नर्वेको संयोजक डा. चन्दा कार्की, र नेपाल-भूटानको संयोजक सुशीला सिर्पाली ठकुरी रहेका छन्।
यस्तै, नेपाल-संयुक्त राज्य अमेरिकाको संयोजक डा. प्रकाशशरण महत, नेपाल-अस्ट्रेलिया संयोजक गगनकुमार थापा, नेपाल-बेलायत संयोजक विराजभक्त श्रेष्ठ, नेपाल-जापान संयोजक डा. नारायण खड्का, नेपाल-चीन संयोजक नारायणकाजी श्रेष्ठ रहेका छन्।
सभामुख घिमिरेले नेपाल-जर्मनी संसदीय मैत्री समूहको संयोजकमा कृष्णगोपाल श्रेष्ठ, नेपाल-इण्डोनेसियाको संयोजकमा रामप्रकाश चौधरीलाई तोकिएको जानकारी दिएका छन्।