रवि लामिछानेको सहकारी ठगी प्रकरणमा दोस्रो दिनको बयान सुरु

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान प्रक्रिया जारी रहेको जानकारी दिएका छन्। लामिछानेको बयान बिहीबारदेखि सुरु भएको हो, जसअघि अन्य प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान पुरा भएको थियो। लामिछानेको बयान सकिएपछि अदालतले तोकेको अनुसार अर्को प्रतिवादीको बयान प्रक्रिया अघि बढ्ने अधिकारीले बताए।

सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो। सबै प्रतिवादीहरूको बयान पूरा भएपछि मात्र थुनछेकको बहस र आदेश जारी गरिने अदालतको भनाइ छ।

गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर गरिएको छ।

अहिलेसम्म उक्त सहकारी ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। यसमा लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधको मुद्दा पनि चलाइएको छ। साथै, लामिछाने, खनाल, जोशी र पछाइको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *