प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीको प्रदर्शन जारी
काठमाडौं । महोत्तरी जिल्लामा एक विद्यालयका प्रधानाध्यापकविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ । विद्यार्थीहरूले प्रशासनसँग कारबाहीको माग राख्दै प्रदर्शन गरेका छन्।
जिल्लाको जलेश्वर नगरपालिका २ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीव कुमार झाले विद्यालयको ७ कक्षामा पढ्दै गरेका एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप छ।
यस घटनापछि विद्यालयका विद्यार्थीहरू र अभिभावकहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै प्रधानाध्यापकविरुद्ध कडा कानूनी कारबाहीको माग गरेका छन्। प्रदर्शनकारीहरूले प्रशासन कार्यालयको समक्ष टायर बालेर विरोध जनाएका छन्।
छात्राको आरोप पछि स्थानीय समुदायले प्रधानाध्यापकलाई कारबाही गर्न दबाब दिइरहेका छन्। यस घटनाले जिल्लामा तनावपूर्ण स्थिति सिर्जना गरेको छ । प्रशासनिक भवन परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन पनि गरिएको छ।
यस घटनामा प्रशासनले छानबिन सुरु गरिसकेको जानकारी प्राप्त भएको छ।