अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्का लगाउने दिन समाप्त भएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर शासन गर्ने दिन समाप्त भएको दाबी गर्नुभएको छ। आइतबार पर्सा जिल्लामा नेकपा एमालेले आयोजना गरेको जनसभामा उहाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समर्थकलाई लक्षित गर्दै यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपाली कांग्रेससँगको गठबन्धन नभइ समीकरणको परिणाम भएको पनि उल्लेख गर्नुभएको छ।
‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्का लगाउँदै मनपरि तन्त्र चलाउने दिन सकिएको छ। त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले अहिलेको समीकरण बनाएका हुन्,’ उहाले भन्नुभयो।
साथै उहाले नेकपा एमाले र हालको समीकरणले देशको विकास गर्ने र यसका लागि नेतृत्व एमालेले गर्ने दाबी पनि गर्नुभएको छ। “हामीले जे गरेका थियौं, त्यो काम फेरि अघि बढाउनका लागि अग्रसर छौं। विश्वास गर्नुहोस्, नेकपा एमाले र यसको नेतृत्वले देशको विकास गर्नेछ। ”
प्रधानमन्त्री ओलीले ‘देशको राजनीति अस्थिर भएको अवस्थामा वर्तमान सरकार स्थिरता ल्याउन सक्षम हुने दाबी गर्नुभएको छ। ‘ठूला पार्टीहरूको बीचमा झगडा लगाउने र षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले शासन गर्ने अवस्था थियो। अब त्यो समाप्त भएको छ,’ उहाले भन्नुभयो।