नुवाकोट शेरादरबार जग्गा प्रकरण: एमालेले माग्यो ‘मिनी संसद’बाटै जवाफ, के हो शेरादरबार प्रकरण ?
काठमाडौँ: नुवाकोटस्थित शेरादरबारको जग्गा प्रकरणका विषयमा नेकपा (एमाले)ले संसदीय समितिबाटै जवाफ मागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसदले गृहमन्त्रालयसँग जवाफ मागेका हुन् ।
बिहीबार बसेको राज्य व्यवस्था समितिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं गृहमन्त्री रमेश लेखक लगायत उपस्थित हुनुहुन्थ्यो । बैठकमा बोल्दै एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा प्रकरणबारे स्पष्ट गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभएको हो ।
के हो शेरादरबार जग्गा प्रकरण ?
पछिल्लो समय नुवाकोटको ऐतिहासिक शेरादरबार नै माओवादी केन्द्रका नेताहरुको नाममा देखिएको विषयले चर्चा पाएको छ । इतिहासिक दरबार नै पहुँचवाल व्यक्तिको नाममा देखिएपछि उक्त प्रकरणबारे हल्लाखल्ला भएको हो । दरबारको जग्गा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तत्कालीन स्वकीय सचिवको नाममा देखिएको छ ।
नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठका नाममा कम्पनी खडा गरी दरबारको एक सय ८४ रोपनी जग्गा हडपेको पाइएको छ । २०७३ सालमा अन्नपूर्ण फार्मिङको सेयर सदस्यको रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण स्वामित्व लिएपछि त्यसलाई प्लटिङ गरेर केही जग्गाको बैनासमेत लिएका थिए। फार्मिङको नाममा जग्गा लगे पनि प्रयोजनविहीन बनाएर राखिएको थियो।
माओवादीका केन्द्रीय सदस्यसमेत भइसकेकाले त्यो जग्गालाई पहुँचका आधारमा पलटिङ सुरु गरिएको थियो । जग्गा प्लटिङ गरेको विषयमा भूमिसुधार मन्त्रालय नुवाकोटस्थित मालपोत कार्यालय झस्किएको हो । यही शेरादरबारको जग्गा प्रकरणका विषयमा नेकपा (एमाले)ले संसदीय समितिबाटै जवाफ मागेको हो ।