४३ पृष्ठ लामो प्रतिवेदन प्रस्तुतीसँगै ओलीको टिप्पणी: देशभक्त, प्रगतिशील शक्तिहरु मजबुद भएकाले प्रतिक्रियावादीहरु आतंकित
काठमाडौँ: प्रधानमन्त्री एवं सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र एमालेको लोकप्रियता देखेर प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताउनुभएको छ ।
आइतबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विरोधीका आरोपमाथि चुप लागेर बस्न नहुँने धारणा व्यक्त गर्नुभयो । उहाँले विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्नेसमेत बताउँनुभयो ।
ओलीले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो । बैठकमा ओलीले ४३ पृष्ठ लिखित राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको छ।