मधेश प्रदेशकी तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा , १ करोड विगो दाबी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सिंहसहित ८ जनाविरुद्ध १ करोड विगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
भ्रष्टाचारको अभियोगमा सचिव सिंहसँगै कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सह लेखापाल ब्रजेशकुमार साह र युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव पनि समावेश छन्। यस्तै मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साह पनि आरोपित बनेका छन्।
आर्थिक वर्ष २०७९\८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश जनकपुरधाम स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख र कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको आरोप छ।
नक्कली बिल भर्पाइ गरेर भुक्तानी दिइएको र वास्तविकता अनुसारको सामान खरिद नगरेको विषयमा आयोगमा उजुरी प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।