तिब्बत भूकम्प अपडेट: मृतकको संख्या ३६ पुग्यो, दुईवटा सहरमा क्षति (तस्बिरसहित)
काठमाडौँ: चीनस्थित तिब्बत प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
चिनियाँ संचार माध्यम सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्र आसपासमा भने दुईवटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
अर्कोतर्फ अमेरिकी जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको उल्लेख गरेको छ । त्यस्तै नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।