भूकम्पको त्रास: काठमाडौँमा एक पुरुषले छतबाट हामफाले, बारामा ११ विद्यार्थी बेहोस
काठमाडौं : काठमाडौंमा आज बिहान आएको शक्तिशाली भूकम्पका कारण आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन्। नेपाल प्रहरीका अनुसार स्युचाटारका ती व्यक्ति घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ। तर प्रहरीले हालसम्म उनको परिचय भने सार्वजनिक गरेको छैन।
आज बिहान ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस भएको थियो।
प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ का ११ जना विद्यार्थी भूकम्पका कारण बेहोस भएका थिए। उनीहरुको उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको र डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ।
यसैगरी भूकम्पको प्रभावले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापको एक गोठमा क्षति पुर्याएको छ। ओखलढुंगा र सोलुखुम्बुका केही घरहरूमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।