चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द
काठमाडौं : चीनको सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प आएको घटनापछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । भूकम्पका कारण चीनमा ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ।
डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको संरचना प्रभावित भएको छ । तर पर्यटक र कर्मचारीहरू भने सुरक्षित रहेका छन् ।
चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार डिङ्ग्रीको तापमान माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तल रहेको जानकारी प्राप्त भएको छ। सगरमाथा क्षेत्रमा नेपालतर्फबाट हाल कुनै गतिविधि हुँदैनन्।