रवि लामिछानेसहित सात जनालाई अदालतमा उपस्थित गराइयो, आदेश आजै आउने संभावना

पोखरा : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आरोपी बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। उक्त मुद्दामा सरकारी वकिलको जवाफी बहस आज हुनेछ र आदेश तुरुन्तै आउने संभावना छ।

सुरक्षा व्यवस्था कडा गरिएका कारण अदालत परिसर र सडकमा अन्य नागरिकहरूको उपस्थिती न्यून देखिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पुस १६ गतेदेखि थुनछेक बहस प्रक्रिया सुरु भएको हो।

सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रवि लामिछानेसँगै छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङ पनि आरोपित छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारी रकम ठगी र अन्य आपराधिक गतिविधिहरूमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप समेत लागेका छन्।

अहिलेसम्म जिल्ला अदालत कास्कीमा सहकारी रकम ठगीको आरोपमा ६३ जना बिरुद्ध मुद्दा दायर गरिएको छ। तीमध्ये १९ जनाविरुद्ध सङ्गठित अपराधको अभियोग पनि छ। लामिछानेसँगै खनाल, जोशी र पछाईमाथि सम्पत्ति शुद्धीकरणको पनि आरोप लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *