बालबालिकाको स्वास्थ्य, संरक्षण र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन सरकारलाई सिजपको आग्रह

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण, र विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन सरकार र सरोकारवालालाई आग्रह गरेको छ।

सिजपले आज जारी गरेको विज्ञप्तिमा तराईका जिल्लाहरूमा शीतलहर र चिसो हावाको कारण जनजीवन प्रभावित भएको, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातका कारण विद्यालयहरू बन्द भएको भन्दै बालबालिकाको स्वास्थ्य र सुरक्षामा विशेष सावधानी अपनाउन अपिल गरेको छ।

विज्ञप्तिमा २०८१ पुस २३ गते बिहान ६:५० मा आएको भूकम्प र त्यसपछिका पराकम्पनहरूले नेपालमा भूकम्पको जोखिम कायमै रहेको औंल्याइएको छ। यस जोखिमलाई ध्यानमा राखी, विद्यालय भवन तथा संरचनाहरूलाई भूकम्प प्रतिरोधी, बालमैत्री, र अपाङ्गतामैत्री बनाउन, साथै जनचेतना फैलाउन सम्बन्धित निकायको सक्रियतामा जोड दिन अनुरोध गरिएको छ।

सिजपले छिमेकी देश चीन र भारतमा हालै देखिएको ह्युमन मेटान्यूमोभाइरस (HMPV) को नेपालमा उच्च जोखिम रहेको र यस भाइरसको संक्रमण विशेषगरी १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामा फैलिन सक्ने भन्दै यसका रोकथामका उपायहरू अपनाउन सरकारलाई आग्रह गरेको छ। यस भाइरसको जोखिम न्यूनीकरण, रोकथाम, र आवश्यक स्वास्थ्य उपकरणहरूको पूर्वतयारीमा ध्यान दिन पनि अनुरोध गरिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *