महान्यायाधिवक्ता कार्यालयले राष्ट्रपतिसमक्ष पेस गर्यो वार्षिक प्रतिवेदन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका कामहरू अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताउनुभयो ।

उहाले मुद्दाको सफलताको प्रतिशत अझ बढाउनसकेमा कानुनी शासनको बढोत्तरी तथा खास गरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

मुद्दाको सफलताको प्रतिशत बढाउने मात्रै भन्दा पनि पीडितले न्याय पाए नपाएको वा पीडित मैत्री भए नभएको विषय महत्त्वपूर्ण हुने उहाको भनाइ छ ।

उहाले कसुरदारलाई सजाय दिने तर्फ मात्र नभई पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने कुराको सुनिश्चितता प्रदान गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरूको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फर्छ्यौट भएको जानकारी दिनुभएको हो । फर्छ्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको उहाले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *