नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया रिहा
नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्।
जिल्ला सरकारी वकीलको कार्यालय, धनुषाको निर्णयका आधारमा उनलाई रिहा गरिएको हो। सिरोहियालाई हारिजी जमानीमा रिहा गर्ने निर्णय भएको जिल्ला सरकारी वकील सुदीप डंगालले बताए।
जिल्ला सरकारी वकीलको कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाको पत्र पाएपछि ललितपुर प्रहरीले उनलाई बुधबार साँझ रिहा गरेको हो।
जिल्ला सरकारी वकीलको कार्यालयको निर्णयका आधारमा छोडिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहारी नायव उपरीक्षक रञ्जन अवालेले बताए। “सरकारी वकीलले हारिजी जमानीमा छाड्ने निर्णय गरेपछि रिहा गरिएको छ,”
सिरोहियालाई जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उनलाई थप अनुसन्धानका लागि धनुषा लगिएको थियो। हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट तीन पटक म्याद थप गरिएको थियो।
उनको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार धनुषाबाट ललितपुर ल्याइएको थियो। बुधबार साँझ ललितपुरबाटै रिहा गरिएको हो।