अब घर जग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य

असार १२गते :अब घर जग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । घर जग्गा किनबेचसँगै सरकारले बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ ।

सरकारले आँउदो माघ महिनादेखि घर जग्गा किनबेच, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय र टेलिफोन तथा सिमकार्ड लिँदा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो । त्यस्तै यहि साउनबाट नै राजश्व सम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने तयारी गरेको परिचय पत्र तथा पञ्जिकरण विभागले जानकारी दिएको छ । केहि समय अघिमात्रै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र निवृत्तिभरणमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । सेवामा एकरुपता ल्याउन अब विस्तारै अन्य सेवाहरुमा समेत परिचय पत्र अनिवार्य गर्ने तयारी गरेको विभागले जनाएको छ ।

सरकारले यि विभिन्न सेवामा राष्ट्रिय परिचय पत्र लागु गर्ने भएसंगै अहिले हरेक जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको भिड बढेको छ । विशेषतः सामाजिक सुरक्षा भत्ता लिन सरकारले २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसंगै प्रशासन कार्यालयहरुमा जेष्ठ नागरिकको भिड बढेको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिरकण विभागले हाल काठमाडौंमा मात्रै ३ सय २१ जना कर्मचारी राष्ट्रिय परिचय पत्र बनाउन खटाएको छ । जसका लागि ५८ वटा स्थान तोकिएको छ । तर, अन्यन्त्र जानुको साटो सबैजसो नागरिक जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मात्रै जाने गरेकोले भिडभाड बढी भएको विभागले जनाएको छ ।

विभागको तथ्याङ अनुसार हालसम्म १ करोड ५० लाखभन्दा बढीले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराएका छन् जसमा ४० लाख छपाई भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *