सिन्धुलि को मरिण गाउँपालि का ले इन्धन र सवारि मर्मत मा १करोड खर्च
साउन ४गते: मरिण गाउँपालिकाले मापदण्ड बिना ठुलो रकम इन्धनमा खर्च गरेको पाइएको छ । गाउँपालिका कार्यालय प्रयोजन र पदाधिकारी शीर्षकमा एक वर्षमै ५४ लाख ६५ हजार ८ सय ७८ रुपैयाँको इन्धन खर्च गरेको हो ।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७७ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरूपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्छ । साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था छ ।
तर सो व्यवस्थालाई लत्त्याएर गाउँपालिकाले इन्धनमा ठुलो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात), प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी सहितका जनप्रतिनिधि र कर्मचारीहरू अहिले पनि सरकारी सवारीको दुरुपयोग गरिरहेका छन् । उनीहरू निजी काममा र बिदाका दिन पनि सरकारी सवारी नै प्रयोग गर्छन् ।
पालिकाले कानुनी व्यवस्थाको पालना नगरी भौचरसाथ लग बुक समेत संलग्न नराखी कार्यालय प्रयोजनको शीर्षकमा ३१ लाख ३० हजार २ सय ४३ रुपैयाँको इन्धन खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनबाट खुलेको छ ।
प्रतिवेदनमा भनिएको छ– इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत राखेको छैन ।
इन्धन खर्चलाई मितव्ययी बनाउन कोटा निर्धारण गरी लग बुक राखेर मात्र खर्च लेख्नतर्फ पालिकाको ध्यान दिन महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ । पालिकाले मापदण्ड विना इन्धनको भुक्तानी गरेको भन्दै सो रकमलाई सैद्धान्तिक बेरुजु कायम गरिएको छ ।
गाउँपालिका अध्यक्षको सवारी मर्मतमा मात्रै १६ लाखखर्च
गाउँपालिकाले सवारी साधन मर्मतमै २२ लाख बढी रुपैयाँ खर्च गरेको छ । सवारी मर्मत २२ लाख ४३ हजार २ सय ६८ रुपैयाँ खर्च गरेको छ ।मरिण गाउँपालिकाले २०७६ सालमा अर्थात् ४ वर्ष अघि ४९ लाखमा खरिद गरिएको पालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले प्रयोग गरेको ज १ झ ४२२ नम्बरको स्कार्पियो एक वर्ष मै १६ लाख २८ हजार ४ सय ९६ रुपैयाँ मर्मत खर्च गरेको छ। तर उपाध्यक्ष विमला माझीले प्रयोग गरेको गाडीको मर्मत खर्च ६० हजार ७ सय ३७ रुपैयाँ मात्रै छ।त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सवारी साधन मर्मतमा पालिकाले २६ लाख ६० हजार ३सय ६१ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकाले यति धेरै रकम मर्मतको नाममा खर्च गरेको भए पनि मर्मत आदेश, मर्मत दाखिला र सोको व्यवस्थित खर्चको मर्मत अभिलेख खाता राखेको पाइएको छैन । अभिलेख नराखेकाले एउटै समान बारम्बार मर्मत हुनाले एउटै साधनको एकै प्रकारको समान फेरिएको हुन सक्ने सम्भावना रहन्छ ।
नियमानुसार मर्मत अभिलेख राख्ने र मर्मत अभिलेखको आधारमा खर्च गरी सम्पत्तिको संरक्षण तथा खर्चमा नियन्त्रण गर्न महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ । मर्मतको नाममा गरिएको खर्च पनि सैद्धान्तिक बेरुजु कायम गरिएको छ ।
मरिण गाउँपालिकाको इन्धन र सवारी साधन मर्मतमा यसरी अस्वाभाविक खर्च किन देखियो भन्ने माईशिर डटकमको प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी अघिल्लो कार्यकालमा नै स्कार्पियो पानीमा डुबेको र भौगोलिक कारणले कच्ची बाटोमा हिँड्दा इन्जिन बिग्रिएर बनाउँदा १६ लाख खर्च भएको भन्दै पन्छिए।याे खबर माईशिर डटकम बाट साभार #