१८ तले बिजनेस टावरको उद्घाटनका लागि प्रधानमन्त्री ओली आज झापा प्रस्थान, यस्तो रहेको छ भ्रमणको कार्यतालिका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँनुभएको छ।

दमक बिजनेज टावर उद्घाटन लगायत जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज बिहान १० बजे झापा जानुभएको एमाले झापाका नेता एवं कोशी प्रदेश सभा सदस्य होम बहादुर थापाले जानकारी दिनुभयो ।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि उहाँ पहिलो पटक गृह जिल्ला झापा जान लाग्नुभएको हो । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओली सहभागी हुनुहुने सबै कार्यक्रमको तयारी पूरा भएको कोशी प्रदेश सभा सदस्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली २ दिन गृह जिल्लामा रहनुहुने उहाँले बताउनुभयो ।

आज मध्यान्ह १२ बजे प्रधानमन्त्री ओली मेचिनगर नगरपालिका -४ स्थित मानवसेवा आश्रमको भवन शिलान्यास तथा उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ ।

आजै दिउँसो २ बजे उहाँले दमक नगरपालिका- ३ दापगाछीस्थित नवनिर्मित दमक विजनेस टावरको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोह भव्य हुनेछ । शहरी विकास मन्त्रालयले आयोजना गर्ने सो समारोहमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव गोपाल सिग्देल लगायत उच्च पदस्थ कर्मचारीहरू सहभागी हुनेछ ।

सो विजनेस टावरको प्रधानमन्त्री ओलीले ५ वर्षअघि प्रधानमन्त्री हुँदा शिलान्यास गर्नुभएको थियो । सो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो टावरको निर्माण कार्य एक वर्षअघि सकिएको हो । शहरी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठन हुने विकास समितिले भ्युटावरको सञ्चालन गर्नेछ । कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि मन्त्रालयले सहसचिव सरहका एक जना कर्मचारीलाई भ्यु टावर सञ्चालन तथा व्यवस्थापनका लागि जिम्मेवारी दिनसक्ने व्यवस्था गरिएको छ ।

आज साँझ प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा स्थानीय नेता कार्यकर्तासँग अनौपचारिक भेटघाट पनि गर्नुहुनेछ ।

भोलि मंसिर २४ गते बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक २ स्थित बेलडागी खानेपानी आयोजनाको उद्घाटन गर्नुहुनेछ । सोही दिन मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा स्कुलचौन जग्गाधनिपुर्जा वितरण कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । सोही दिन दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नुहुनेछ । सोही दिन दिउँसो ३ बजे उहाँले बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ ।

यस्तो छ प्रधानमन्त्रीको गृह जिल्ला भ्रमणको कार्यतालिका :-

मंसिर २३ गते

-बिहान १० बजे काठमाडौंबाट प्रस्थान
-मध्यान्ह १२ बजे मेचिनगर नगरपालिका-४ स्थित मानवसेवा आश्रमको भवन शिलान्यास तथा उद्घाटन
– दिउँसो २ बजे उहाँले दमक नगरपालिका-३ स्थित नवनिर्मित दमक विजनेस टावरको उद्घाटन

मंसिर २४ गते

-बिहान १० बजे दमक(२ स्थित बेलडागी खानेपानी आयोजनाको उद्घाटन
-मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा ९स्कुलचौन० जग्गाधनिपुर्जा वितरण कार्यक्रम
-दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन

-दिउँसो ३ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा हुने एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन


Leave a Reply

Your email address will not be published. Required fields are marked *