प्यालेस्टाइनको पक्षमा प्रचण्डदेखि मोहनविक्रमसम्मको हस्ताक्षर

काठमाडौं । इजराइलले प्यालेस्टाइनमा गरेको ‘जनसंहार’ को विरूद्ध हस्ताक्षर संकलन अभियानमा पूर्व प्रधानमन्त्रीहरू तथा विभिन्न कम्युनिष्ट पार्टीका नेताहरूले ऐक्यबद्धता जनाएका छन् ।

प्यालेस्टिनीमाथि इजराइली जनसंहारविरूद्ध संयुक्त अभियान नेपालले आज (सोमबार) काठमाडौंको माइतीघर मण्डलमा आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लगायत दलका थुप्रै नेताहरू उपस्थित भएका थिए ।

हस्ताक्षर संकलन कार्यक्रममा तीन जना पूर्व प्रधानमन्त्री सहभागी भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्षका माधवकुमार नेपाल र नेसपा नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई सहभागी छन् । नेताहरू मोहनबिक्रम सिंह, अग्नि सापकोटा, देव गुरूङ, घनश्याम भूसाल, लिलामणि पोखरेल, श्याम श्रेष्ठ लगायतका नेताहरू पनि सहभागी भए ।

उनीहरू सबैले इजराइलले प्यालेस्टाइनमाथि गरेको जनसंहार अन्त्य गरिनुपर्ने र गाजामा भएको अमानवीय नाकाबन्दी तत्काल खोलिनुपर्ने लगायतका माग उल्लिखित ब्यानरमा हस्ताक्षर गरेका छन् । इजराइलले गत वर्षको अक्टोबर ७ देखि गाजामा लगातार आक्रमण गर्दै आइरहेको छ । इसराइली आक्रमणबाट गाजामा अहिलेसम्म आधा लाखभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको र लाखौं मानिसहरू घाइते र विस्थापित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *