रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित बनाउन खोजियो:गृहमन्त्री लेखक
सुर्खेत । गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको दावी गर्नुभएको छ। आज (मंगलबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताउनुभएको छ।
उहाले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको बताउनुभएको छ । ‘सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्,’ उहाले भन्नुभयो, ‘अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ ।’
सडकमा हुल बाँधेर कसैलाई न्याय नमिल्ने भन्दै उहाले अनुसन्धानमा प्रभाव पर्ने काम नगर्न रास्वपा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको उहाको भनाई छ।
गृहमन्त्री लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको पनि उल्लेख गर्नुभएको छ । ‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरूबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उहाले भन्नुभयो, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, सम्झौता अनुसार अबको १८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’