राप्रपा नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा अन्य दलको सामग्रीमा लाइक र रिट्विट नगर्न निर्देशन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता र कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा जिम्मेवारिता अपनाउनका लागि नयाँ कार्यविधि लागू गरेको छ। यस कार्यविधिमा पार्टीका सदस्यहरूले सामाजिक सञ्जालमा प्रतिस्पर्धी दल, व्यक्ति वा समूहका कुनै पनि सामग्रीलाई शेयर, लाइक, र रिट्विट नगर्नुपर्ने उल्लेख गरिएको छ ।

कार्यविधिको परिच्छेद १० को (ग) बुँदामा भनिएको छ, “सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।”

यस कार्यविधिमा पार्टीको पद प्रयोग गर्दा सामाजिक सञ्जालमा नाम प्रयोग नगर्न र अन्य पक्षहरूको भ्रामक सामग्रीलाई रोक्ने विषय पनि समावेश गरिएको छ।राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, पार्टीको निर्णय, विचार, आदर्श र नीतिहरूलाई जनतासम्म प्रभावकारी ढंगले पुर्‍याउन सामाजिक सञ्जाल कार्यविधि ल्याइएको हो। यस कार्यविधिको उद्देश्य व्यवस्थित र मर्यादित सञ्जाल सञ्चालन गर्नु, पार्टीको सामग्रीमा एकरुपता कायम गर्नु र भ्रामक जानकारीलाई फैलन नदिनु हो।

उक्त कार्यविधि ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ को रूपमा केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको थियो, जसलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो। पार्टीले यस कार्यविधिका माध्यमबाट पार्टी सदस्यहरूलाई सञ्जालमा स्वस्थ र सन्तुलित सम्बन्ध स्थापना गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।
राप्रपाले सामाजिक सञ्जालको उचित प्रयोगद्वारा पार्टीलाई सबल, सक्षम र विश्वसनीय बनाउन र विशेष गरी पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्तिको नियन्त्रणका लागि यो कदम चालेको जनाएको छ ।

हेर्नुहोस् राप्रपाको सामाजिक सञ्जालसम्बन्धी कार्यविधि :


Leave a Reply

Your email address will not be published. Required fields are marked *