जनआकांक्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ : महासचिव पोखरेल
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले जनआकांक्षा पूरा गर्न सबै दललाई मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाले समृद्धिको सपना पूरा गर्न प्रमुख दलहरू मिलेर सहकार्य गर्नुपर्ने आवश्यकतामा जोड दिँदै यसमा सबैको सकारात्मक सहयोगको आवश्यकता व्यक्त गर्नुभएको छ।
आज बिहान नवलपुरको गैँडाकोटमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले समृद्धि र विकासको मार्गमा कानुनी सुधार र सहकार्यका महत्त्वपूर्ण पक्षहरूको अनुकूलन गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाले भन्नुभयो,” विश्वभर नयाँ परिवर्तनहरू भइरहेका छन् र मानिसहरूको सोच र आवश्यकतामा परिवर्तन आएको छ। कानुनी जटिलताले विकास निर्माणमा बाधा पुर्याइरहेको छ। त्यसैले कानुनमा सुधार गरेर नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ।”
महासचिव पोखरेलले वर्तमान समयमा कानुनी सुधारको आवश्यकता रहेको बताउदै यसका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।
“वर्तमान सरकारले संविधान र ऐन कानुन सुधार प्रक्रियालाई अगाडि बढाइरहेको छ। सुधारका लागि हामीले नयाँ संरचनाको आवश्यकता र पुराना संरचनाहरूको परिमार्जनमा ध्यान केन्द्रित गरेका छौं,” उहाले भन्नुभयो। शासकीय सुधारका सन्दर्भमा उहाँले प्रधानमन्त्री कार्यालयमार्फत प्रत्येक मन्त्रालयमा रिफर्म युनिट स्थापना गरेर सुधार प्रक्रिया प्रभावकारी बनाउने योजना बनाइएको बताउनुभएको छ।
महासचिव पोखरेलले वर्तमान सरकारको कामको मूल्यांकन गर्दै भन्नुभयो, हामी पुराना नीति, कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेकाले सोचेजति प्रभावकारी कार्यसम्पादन हुन सकेको छैन, तर चुनौतीका बाबजुत सरकार सुधारको प्रक्रियामा अघि बढेको छ।
अन्त्यमा, उहाँले सरकारको उपलब्धिहरूको उल्लेख गर्दै भन्नुभयो,”नयाँ सरकार बनेपछि राजस्व सङ्कलनमा १७ प्रतिशत वृद्धि भएको छ। पुँजीगत खर्चमा वृद्धि भएको छ, मौद्रिक तरलताको सङ्कट अन्त्य गर्न काम भइरहेको छ, र विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च विन्दुमा पुगेको छ।”