बारामा प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा गुप्तचर विभागका अधिकारीको संलग्नता
काठमाडौँ : बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको संलग्नता रहेको खुलासा भएको छ।
६ पुसमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बाको मृत शरीर फेला परेको थियो।
यस घटनापछि प्रहरीको अनुसन्धान टोलीले राष्ट्रिय अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारीको संलग्नता पत्ता लगाएको जनाएको छ। तिवारी सिमराको विमानस्थल कार्यालयमा कार्यरत थिए।
प्रारम्भिक अनुसन्धानपछि तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउने पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरिएको छ। मृतकको शव भेटिएको गाडी पनि तिवारीको भएको पुष्टि भएको छ।
प्रहरीले दासको वर्कसपबाट रुम्बाले घाँटीमा लगाएको सुनको सिक्री बरामद गरेको छ साथै रुम्बाको पर्स पनि दासको झोलामा फेला परेको जनाइएको छ।
प्रारम्भिक छानबिनले रुम्बालाई गोली हानेर हत्या गरिएको पुष्टि भएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।