मिस हेरिटेज विभाको टिप्पणी: ‘केपी बा’को मिसनमा साथ दिन पाउनु हाम्रो पुस्ताको लागि अवसर

‘हरेक देशले यत्तिको नेता सधैँ पाउँदैन’

काठमाडौँ: मिस हेरिटेज इन्टरनेशन विभा बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको मिसनमा साथ दिन पाउँनु युवा पुस्ताका लागि अवसर भएको टिप्पणी गर्नुभएको छ । आइतबार नेकपा (एमाले)मा प्रवेश गर्नुभएकी बस्नेतले हरेक देशले केपी शर्मा ओली जत्तिको क्षमतावान, देशभक्त र भिजनरी नेता सधैँ नपाउने धारणा व्यक्ति गर्नुभएको हो ।    

एमाले पार्टी प्रवेश कार्यक्रमका तस्बिरहरु फेसबुकमा पोस्ट गर्दै मिस हेरिटेज विभा बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नियोजित रुपमा अफवाहहरु चलाइएको दाबीसमेत गर्नुभएको छ । उहाँले सोमबार आफ्नो फेसबुकमा लेख्नुभएको छ-

‘केपी बा को पहिल्यैदेखिको फ्यान म…जे जस्ता अफवाहहरु उहाँको विरुद्ध चलुन त्यसका पछाडि धेरै नियोजित कारणहरु पक्कै छन् तर कुनै पनि देशले यत्तिको क्षमतावान देशभक्त र भिजनरी नेता सधैँ पाउदैन जस्तो मलाई लाग्छ र उहाँको मिसनको सहयोगी हुन पाउनु पनि हाम्रो पुस्ताको लागि एक अवसर नै हो ।  यस्तै सोच र इच्छा शक्ति साथ मैदानमा प्रबेश गर्दैछु, सबैको साथ सहयोग र सुभेच्क्षा का लागि आग्रह गर्छु ।’ 

आइतबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘मिस हेरिटेज इन्टरनेशन’ विजेता विभा बस्नेत, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल, युवाहरू गायत्री विसी, शिवानी गौतम र अश्विनी खरेलले पार्टी प्रवेश गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली आफैले युवाहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा अध्यक्ष ओलीले ‘मिस हेरिटेज इन्टरनेशन’ विजेता विभा बस्नेत, युवाहरू गायत्री विसी, शिवानी गौतम र अश्विनी खरेललाई पनि खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेलले समाजमा विद्यमान विसंगती र नराम्रा पक्षलाई चिर्ने पार्टी एमाले नै रहेको धारणा राख्नुभएको थियो । उहाँले युवामा रहेको देश बन्दैन भन्ने नकारात्मक भाष्य चिर्ने काममा आफू लाग्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *